विराटनगर । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सहभागी भए । बिहान ११ बजे नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा महतोले नेपालको राजनीतिक यात्राको गहिरो समीक्षा गर्दै शासन प्रणाली र संविधानले अझै पनि सम्पूर्ण नेपाली जनताको भावनालाई आत्मसात् गर्न नसकेको कटु टिप्पणी गरे ।
उनको भनाइमा, सात–सात पटक संविधान बने पनि नेपालले अझै साझा राष्ट्रिय पहिचानको बाटो लिन सकेको छैन । “कांग्रेस, एमाले र माओवादीले देशलाई आज यो अवस्थासम्म ल्याएका हुन्, त्यसैले जिम्मेवारी पनि उनीहरूले नै लिनुपर्छ,” उनले ठोकुवा गरे ।
महतोले संविधान निर्माण प्रक्रियामा देखिएको बहिष्करण र विविधतालाई अस्वीकार गर्ने प्रवृत्तिलाई नेपालको असफलताको मूल कारणका रूपमा प्रस्तुत गरे । “हामीले नेपाललाई एउटा साझा फूलबारी बनाउन सकेनौँ । बरु एउटै ढाँचामा सबैलाई अटाउन खोज्यौँ, सबैको पहिचान मेटाएर एउटै बनाउने प्रयास गर्यौँ । यही हाम्रो दुर्भाग्य हो,” उनले भने ।
पत्रकार सम्मेलनमा उनले नेपालमा घटेका राजनीतिक काण्डहरूको उल्लेख गर्दै त्यसमा कांग्रेस, एमाले र माओवादी केन्द्रको संलग्नता रहेको आरोप समेत लगाए ।
तर, सम्मेलनपछि बाहिरिँदै गर्दा महतोमाथि पत्रकारहरूले अर्को प्रश्न उठाए— “राष्ट्रियताबारे ठूलो कुरा गर्नुभयो, तर आफैं किन भारतीय गाडी चढ्नुभयो ?”. सो प्रश्नमा उनले मुस्कुराउँदै जवाफ दिए, “नेपालले गाडी बनाउन सकेको छैन । सरकारले त्यसको वातावरण पनि बनाउन सकेको छैन । त्यसैले बाध्य भएर भारतीय गाडी प्रयोग गरिएको हो ।”
उनले स्पष्ट पारे— “भारतसँग किनमेल गरेर ल्याएको गाडीमा चढेको हुँ, नेपालले आफ्नै गाडी बनाउन सके भने म पहिलो व्यक्ति हुनेछु, जसले त्यसलाई समर्थन गर्नेछु ।”
महतोका अनुसार, नेपाल वास्तवमै साझा फूलबारी हो, जहाँ हिमाल, पहाड, तराई र मधेसका जनताले विभिन्न जाति, भाषा र संस्कृतिसहित मिलेर राष्ट्र निर्माण गरेका हुन् । तर, पृथ्वीनारायण शाहपछि कुनै पनि शासकले त्यो साझा फूलबारीलाई सुरक्षित र सशक्त बनाउन सकेनन् ।
उनले दुःख व्यक्त गर्दै भने, “नेपाल प्राकृतिक सम्पदाले धनी छ— पानी, पर्यटन, कृषि सबै छ । तर, शासन प्रणाली बिग्रिएकै कारण युवाहरू विदेशिन बाध्य छन् । समृद्धि सम्भव थियो, तर नेतृत्वले असफल गरायो ।”
महतोले अमेरिकाको स्थायी संविधान र भारतको बारम्बार संशोधनमार्फत परिष्कृत संविधानलाई उदाहरण दिँदै नेपालले सात पटक संविधान बनाए पनि पछाडि परेको व्यङ्ग्य गरे । “हामी अझै प्रश्नमै छौँ— यस्तो नेपाल कसले बनायो ? त्यसको जिम्मेवारी कसले लिने ?”
उनले अन्त्यमा जोड दिए, “नेपाल हिमाल, पहाड, तराई र मधेस सबैको हो । यहाँको अधिकार, पहिचान र अवसर सबै नेपालीका लागि समान हुनुपर्छ । साझा देश बनाउन हो भने हामीले विविधतालाई आत्मसात् गर्नैपर्छ ।”