रुसी राष्ट्रपति पुटिनले दिए प्रधानमन्त्री ओलीलाई ‘दुर्लभ’ रुस भ्रमणको निम्तो

नेपाल र रुस : दुई देशका प्रमुख बिच भेटघाट

काठमाडौं।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रूस भ्रमणको विशेष निमन्त्रणा दिएका छन्। चीनको तियानजिनमा सम्पन्न सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको साइडलाइनमा सोमबार राति भएको भेटवार्तामा पुटिनले यस्तो निमन्त्रण दिएको जनाइएको छ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल–रुस सम्बन्ध सधैं आत्मीय र मित्रवत रहँदै आएको तर हालसम्म रूसबाट नेपालमा उच्चस्तरीय भ्रमण नभएको कुरा उल्लेख गरेका थिए। त्यसपछि पुटिनले ओलीलाई प्रतिक्रिया दिँदै भने, “प्रधानमन्त्रीज्यू, तपाईंको विचारलाई म सकारात्मक रूपमा लिन्छु। हामी नेपाल भ्रमणको सम्भावना पनि विचार गर्नेछौँ। तर तपाईंलाई कुनै पनि अनुकूल समयमा रूसमा स्वागत गर्न पाउनु हाम्रो लागि विशेष खुशीको कुरा हुनेछ।”

राष्ट्रपति पुटिनले व्यक्तिगत रूपमा विदेशी नेताहरूलाई यसरी प्रत्यक्ष निमन्त्रणा दिने प्रचलन खासै नगर्ने भए पनि यसपटक प्रधानमन्त्री ओलीलाई उनले दिएको ‘दुर्लभ’ निम्तोलाई महत्वपूर्ण कूटनीतिक संकेतको रूपमा हेरिएको छ।

पुटिनले सन् १९५६ मा नेपाल–रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै आउँदो वर्ष दुई देशबीच सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवले विशेष महत्व पाउने बताएका थिए। उनले नेपाल–रुस सम्बन्धलाई ऐतिहासिक मित्रता र सहकार्यको आधारमा टेकेको भन्दै, “हाम्रो दुई देशबीच कहिल्यै समस्या भएको छैन, बरु अन्तर्राष्ट्रिय मुद्दामा प्रायः समान धारणा रहेको छ” भन्ने टिप्पणी गरे।

प्रधानमन्त्री ओलीले अघिल्ला वर्षहरूमा (सन् १९९९ र २०००) आफूले गरेको रुस भ्रमण र सो समयमा ठूलो संख्यामा नेपाली विद्यार्थीले पाएको शैक्षिक अवसरको चर्चा गरे। उनले हाल पनि रुसमा अध्ययन गरेका धेरै नेपाली चिकित्सकहरू नेपालमा सेवामा संलग्न रहेको बताए। त्यसमा सहमति जनाउँदै राष्ट्रपति पुटिनले रुसी शिक्षाले विद्यार्थीहरूलाई नेपाल–रुस सम्बन्ध सुदृढ बनाउन पुलको काम गरेको बताए।

शिक्षा, संस्कृति र मानवीय अन्तरक्रियामा अझ गहिरो सहकार्य गर्न सकिने उल्लेख गर्दै पुटिनले नेपाली विद्यार्थीहरूलाई थप अवसर दिन रूस तयार रहेको जानकारी दिए। साथै, नेपाली संस्कृति र परम्पराबाट प्रभावित हुने इच्छा रुसी जनतामा रहेको बताउँदै उनले यस विषयमा थप पहल गर्न ओलीलाई सुझाव दिए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार