नेर्तित्वमा विद्यालाई रोक्न अर्लि अधिबेशन गर्ने मुडमा ओलि

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) को सक्रिय राजनीति सुरु गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व लिन तयारी तीव्र पारेकी छिन् । पार्टीको तल्लो कमिटीसम्म आफ्नो समूह नै खडा गरेर उनले अध्यक्ष केपी शर्मा ओलीलाई दबाबमा पारेकी छिन् ।

२ कार्यकाल राष्ट्रपति हुँदासमेत पार्टीका सबै तह, तप्का र राज्यका निकायहरूमा अध्यक्ष ओलीसँग ‘आफ्नो भाग’ लिएकी पूर्वराष्ट्रपति भण्डारीले अहिले पार्टीका सबै निकायमा आफ्नो समूहलाई सक्रिय बनाएकी हुन् । आगामी महाधिवेशनमा सर्वसम्मत् रूपमा नेतृत्व लिन चाहेकी उनले आवश्यक परे पार्टीका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी मैदानमा भिड्नसमेत तयार भएर अघि बढेकी छिन् ।

एमाले उच्च स्रोतका अनुसार पूर्वराष्ट्रपति भण्डारीले ‘नपत्याउँदो गरी’ पार्टी संगठनलाई आफ्नो पकडमा पारिसकेकी छिन् । निर्वाचन केन्द्रित गतिविधि नै सञ्चालन गरिरहेकी उनको समूहमा घोषित र अघोषित रूपमा लागेकाहरूलाई पनि आफू पछि नहट्ने बताइसकेकी छिन् । उनको निर्देशनबमोजिम ‘विद्या समूह’ देशभर महाधिवेशन केन्द्रित भएको छ ।

यता, उनका सबै गतिविधि अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओपन सेक्रेट’ जस्तै छन् । उनले चाहेर पनि भण्डारीलाई सक्रिय राजनीतिबाट रोक्न सकेका छैनन् । अध्यक्ष ओली भण्डारीसमक्ष रक्षात्मक अवस्थामा पुगेका छन् । यसले एमालेको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिलाई नै एक–डेढ वर्षभित्र फरक मोडमा पुर्याउन सक्ने विश्लेषण गर्न थालिएको छ ।

सौर्य दैनिकसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीको पक्षमा खुलेर लागिरहेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले एमालेको राजनीतिमा भण्डारीको आवश्यकता खट्किएकाले उनी सक्रिय राजनीतिमा फर्किनुपरेको बताए । उनले आगामी राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले नै भण्डारीलाई अध्यक्षको प्रस्ताव गर्ने अवस्था बन्ने दाबी गरे । ‘अध्यक्ष ओलीले नै म कक्षा दोहोर्याउँदिनँ भनेर पटक–पटक भन्नुभएकै कुरा हो । आगामी अधिवेशनमा विद्या भण्डारीलाई अध्यक्षमा अघि सारेर उहाँले नै समाधान दिनुहुनेछ भन्ने मेरो बुझाइ छ,’ उनले भने ।

भण्डारीलाई मोरङबाट हरियो झन्डा, थप उत्साहित

गत २०७९ फागुन २९ गते राष्ट्रपतिका रूपमा २ कार्यकाल सकेर बिदा भएपछि नै भण्डारीले सक्रियता देखाएकी हुन् । सुरुमा केही सार्वजनिक महत्वका कार्यक्रममा देखापरेकी उनी बिस्तारै एमालेका कार्यक्रमहरूमा देखिन थालिन् । अहिले उनी एमालेका जनवर्गीय संगठनहरूले गरेका विभिन्न कार्यक्रमहरूमा प्रमुख वक्ताकै रूपमा उपस्थित हुने गरेकी छिन् । उनी पार्टीमा आफ्नो अवस्थासँगै नेता/कार्यकर्ताको मनोभावना बुझ्न सातै प्रदेश दौडाहामा लागेकी छिन् ।

अहिले एमालेको जिल्ला अधिवेशन धमाधम भइरहेका छन् । त्यहाँ उनको आशीर्वाद पाएका उम्मेदवारहरू पनि खुलेर उम्मेदवारी दिइरहेका छन् । सबै ठाउँमा विद्या भण्डारीको समूह संस्थापनसँग प्रतिस्पर्धा गर्न आउने अवस्था बनेपछि पार्टीले सबै ठाउँमा सर्वसम्मत् नेतृत्व चयन गर्न र चुनाव नगर्न दबाब दिँदै आएको छ । तर, पार्टीको निर्देशनविपरीत निर्वाचन हुने परिस्थिति बन्दै गएको छ । यसले विद्या भण्डारीलाई रोक्न अध्यक्ष ओली र संस्थापन पक्षले नसकेको स्पष्ट हुन्छ ।

गत शुक्रबार सम्पन्न मोरङ जिल्ला कमिटी निर्वाचनले भण्डारीको सक्रियता सार्थक बनाएको छ । मोरङमा भण्डारी प्यानलका अम्बर राई अध्यक्ष बने । उनी आफूमात्रै होइन, मोरङमा पदाधिकारी सबै पदमा भण्डारी समूहले जित हात पार्यो । संस्थापन पक्षका राजकुमार ओझा अध्यक्षमा पराजित भए । संस्थापन पक्षका उम्मेदवार भनेर चिट बाँड्दासमेत भण्डारी प्यानलले जित हात पारेपछि भण्डारी समूह यतिखेर हौसिएको छ ।

बाँकी सबै जिल्ला र तहमा निर्वाचनमार्फत् नै कडा टक्कर दिने तयारीमा भण्डारी समूह लागिपरेको छ । यद्यपि सौर्य दैनिकसँग कुरा गर्दै स्थायी कमिटी सदस्य थापाले पार्टीभित्र भण्डारी र संस्थापन पक्ष भनेर कित्ता नछुट्टिएको जिकिर गरे । उनले भण्डारी र ओली एक–अर्काको वैचारिक उत्तराधिकारी भएको भन्दै उनीहरूबीच कुनै प्रतिस्पर्धा नभएको बताए ।

‘एमालेभित्र भण्डारी र ओलीको अलग–अलग कित्ता देखाउन खोजिएको छ । त्यो शतप्रतिशत गलत कुरा हो । उहाँहरूबीच एउटै सोच र विचार छ । उहाँहरूबीचमा टक्कर देखाउन खोजिँदै छ, त्यो गलत छ,’ उनले थपे, ‘बरु ओलीलाई समर्थन गर्ने नाममा भित्रभित्रै उहाँलाई कमजोर बनाउने र विवादमा पार्ने काम भइरहेको छ । उहाँहरूबीच कुनै टक्कर, असमझदारी र प्रतिस्पर्धा छैन । र, जीवनकालभर हुँदैन पनि ।’

उनले पार्टीको ११औँ महाधिवेशनमा साझा नेतृत्वका रूपमा विद्या भण्डारी मात्र रहने बताए । हालसम्म कुनै विवाद पनि नभएको र सर्वस्वीकार्य व्यक्ति भएकाले विद्या निर्विकल्प अध्यक्षको उम्मेदवार हुने उनको भनाइ छ । ‘एमालेभित्र विद्या भण्डारी विवादित व्यक्ति होइन । उहाँ सबैको साझा व्यक्ति हो । ११औँ महाधिवेशनमा साझा व्यक्तिका रूपमा स्वीकारिने मान्छे विद्या भण्डारी नै हो,’ उनले भने ।

सर्वमान्य नेता बन्ने लोभ

पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीति सुरु गर्नुको पछाडि वामपन्थीहरूलाई एकताबद्ध गरेर सर्वमान्य नेता हुने लोभ रहेको जानकारहरू बताउँछन् । विगतमा एमाले र नेकपा (माओवादी केन्द्र) को एकताबाट बनेको नेकपा टिक्न सकेन । भएकै एमाले पनि ३ टुक्रामा विभाजित हुन पुग्यो । यस्तो अवस्थामा विद्याको लक्ष्य सबै वामपन्थी तथा कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने छ । उनलाई दोस्रो पटक राष्ट्रपति बन्न सहजै स्वीकार गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बृहत् वाम एकता गर्ने सर्तमा उनलाई अध्यक्ष मान्न तयार छन् ।

यता, पूर्वएमालेको एकता गर्ने सर्तमा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र भीम रावल पनि उनलाई अध्यक्ष मान्न तयार छन् । यी सबै नेताहरू भण्डारीसँग निरन्तर संवादमै छन् । ओलीको नेतृत्वमा वाम एकता हुन नसक्ने देखेकी भण्डारी आफ्नै नेतृत्वमा वाम एकता गरेर सर्वमान्य नेता बन्ने उच्च महत्वकांक्षाका साथ अघि बढेकी हुन् ।

सौर्य दैनिकसँग कुरा गर्दै राजनीतिक विश्लेषक कृष्ण पोखरेलले भण्डारी राजनीतिमा सक्रिय हुनुको पछाडि कुनै व्यक्तिगत लालसा नजोडिएको बताए । वामपन्थीहरूलाई एकताबद्ध गर्न भण्डारीले नेतृत्व लिन चाहेको उनले उल्लेख गरे । ‘उहाँले वामपन्थी राजनीति गिजोलिएको देख्नुभयो । एमालेमा केपी ओली अध्यक्ष रहुन्जेल वाम शक्तिहरू एकठाउँ आउन सक्दैनन् भन्ने उहाँलाई लागेको छ । त्यसैले उहाँ अघि बढ्नुभएको छ,’ पोखरेलले भने, ‘या त उहाँले ओलीले नै आफूलाई अगाडि सार्नुपर्ने अवस्था सिर्जना गर्नुहुन्छ । अथवा कुनै विन्दुमा गएर वारपार होला भन्ने मेरो आकलन छ ।’

एमाले स्थायी कमिटी सदस्य थापाले पनि अहिलेको राजनीतिक प्रणालीलाई जोगाउन पनि वाम एकता आवश्यक भएको बताए । उनले नेताहरूबीच प्रतिष्ठाको लडाइँ चलिरहेको भन्दै सर्वस्वीकार्य व्यक्ति पूर्वराष्ट्रपति भण्डारी नै हुने तर्क गरे । ‘अहिले भइरहेका प्रमुख नेताहरूबीच प्रतिष्ठाको लडाँइ छ । एकले अर्कालाई स्वीकार नगर्ने अवस्था छ । यस्तोमा सर्वस्वीकार्य व्यक्ति विद्या भण्डारी मात्रै हुन सक्नुहुन्छ ।’ त्यसो त उनको अर्को पनि दाबी छ । दुवै छिमेकी राष्ट्रहरूमा समेत भण्डारीले विश्वसनीय व्यक्तिको छवि बनाएका कारण उनलाई सबै राष्ट्र र शक्तिहरूले स्वीकार्ने उनले तर्क गरे ।

अर्ली महाधिवेशनको तयारीमा ओली

आगामी महाधिवेशनमा विद्या भण्डारीको कडा टक्कर बेहोर्नुपर्ने करिब निश्चित रहेको बुझेका अध्यक्ष केपी शर्मा ओलीले आफू सत्ता र शक्तिमा हुँदै महाधिवेशन गर्नेतर्फ छलफल अघि बढाएका छन् । २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्ष चुनिएका ओली आगामी कार्यकाल पनि दोहोरिन चाहन्छन् । त्यसका लागि विधानमा भएको उमेर हद पनि हटाइसकिएको छ ।

विधानअनुसार आगामी २०८३ साल मंसिरसम्म ११औँ महाधिवेशन गरिसक्नुपर्छ । तर, ओलीले आफू प्रधानमन्त्री रहेकै बेला महाधिवेशन गरेर दोहोरिने अनुकूल बाटो खोजिरहेका छन् । कांग्रेससँगको सम्झौता अनुरुप उनी २०८२ साल असारसम्म प्रधानमन्त्री रहनेछन् । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने सहमति छ । अध्यक्ष ओलीको नजर कुनै बहानामा २०८२ को असारअघि नै महाधिवेशन गर्न सकिन्छ कि भन्नेतर्फ केन्द्रित छ ।

एमाले संस्थापनमा विद्या आतंक भए पनि पदाधिकारीको तहबाट सार्वजनिक रूपमा कसैले पनि उनको विरोधमा बोल्न सकेका छैनन् । न त समर्थनमा नै देखिन सकेका छन् । कतिपय पदाधिकारी त विद्या र ओली दुवैको डरमा समेत छन् । विद्याको ‘कमब्याक’लाई सबैले सहर्ष रूपमा स्वीकार गरे पनि उनको हैसियत के हुने भन्ने विषयमा सबै नेता मौन छन् ।

एमालेका एक पदाधिकारीले सौर्य दैनिकसँग भने, ‘अब कसैले चाहे पनि नचाहे पनि पूर्वराष्ट्रपति भण्डारी एमालेको अध्यक्ष बन्ने दौडमा लागिसक्नुभयो । अध्यक्ष ओली पनि रोक्न लागिराख्नुभएको छ । बाँकी कुरा समयले नै बताउला ।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार