विगतका ठूला परिवर्तनकारी आन्दोलनको संवाहक बनेको एवं संघर्ष र बलिदानको गौरवगाथा बोकेको विद्यार्थी आन्दोलन आज प्राणहीन अस्थिपञ्जरजस्तो बनेको छ
13-10-2023
kathmandu Nepal
विश्वव्यापी रूपमा स्वतन्त्रता र मुक्ति आन्दोलनको उभार चलिरहँदा यसको प्रभावबाट नेपाली विद्यार्थी समुदायसमेत अछुतो रहेन । सबै देशका राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेलेका छन् । रुसको अक्टोबर क्रान्ति, चीनको नयाँ जनवादी क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम, उपनिवेशविरुद्धको मुक्ति आन्दोलनलगायत अन्तर्राष्ट्रिय आन्दोलनबाट नेपालका सचेत युवा विद्यार्थीमा स्वतन्त्रताको चाहना र विद्रोही चेत अंकुरित हुँदै आएको पाइन्छ ।
सनातन कालदेखि गुरुकुल, मठमन्दिर, चैत्य र गुम्बाहरूबाट मौखिक शिक्षाको सुरुवात र विकास भयो । जंगबहादुरको युरोप (बेलायत) भ्रमणपछि नेपालमा आधुनिक शिक्षा आरम्भ भयो । शिक्षाको प्रारम्भसँगै विद्यार्थी आन्दोलनको सुरुवात हुन्छ । राणाकालमा खोलिएका तीनधारा पाठशाला र त्रिचन्द्र कलेज मात्रै थिए । जहाँ राजा र राणाका सन्तति र केही ब्राह्मण–पुत्र मात्रै अध्ययन गर्थे । संस्कृत मात्रै पढाइ हुने तीनधारा पाठशालाका विद्यार्थीलाई परीक्षा दिन भारतको वनारस जाँदै गर्दा भारतमा भएको स्वतन्त्रता आन्दोलनको उभारले बिस्तारै छोयो । संस्कृत मात्रै होइन, अब हामीले भूगोल, इतिहास, अर्थशास्त्र, दर्शनलगायत विषय पनि पढ्न पाउनुपर्छ र परीक्षा नेपालमै दिन पाउनुपर्छ भन्ने मागसहित उठेको संगठित पहिलो विद्यार्थी आन्दोलन थियो, २००४ सालको ‘जयतु संस्कृतम्’ आन्दोलन । यसलाई नै विद्यार्थी आन्दोलनको आधारशिला मानिन्छ ।
प्रजातन्त्र स्थापनाको लडाइँमा मृत्युदण्ड रोजेका त्रिचन्द्र कलेज कक्षा ११ मा अध्ययनरत अमर सहिद गंगालाल श्रेष्ठ तथा राजा, राणा र कांग्रेसबीच सम्पन्न दिल्ली सम्झौता राष्ट्रघाती छ भन्दै गरिएको आन्दोलनको मोर्चामा भूगोलपार्कमा सहादत प्राप्त गर्ने विश्वनिकेतन हाइस्कुलमा कक्षा ८ मा अध्ययनरत चिनियाँकाजीलाई विद्यार्थी आन्दोलनका महान् सहिद मानिन्छ । प्रवास भारतमा स्थापित केही विद्यार्थी संगठनबाहेक नेपालमा संगठित रूपमा वि.सं. २००७ सालमा गौरीभक्त प्रधानको उपस्थितिमा स्थापित अखिल नेपाल विद्यार्थी फेडरेसन ‘अनेविफे’, त्यसपछि विकसित नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन ‘नेराविफे’ हुँदै २०२२ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ‘अनेरास्ववियू’ को स्थापना भएको थियो ।
प्रगतिशील र प्रजातान्त्रिक दुवै समूहका विद्यार्थीको आयोजनामा गरिएको प्रथम सम्मेलनबाट नेतृत्वका लागि शेरबहादुर देउवा र बालमुकुन्द खरेलबीच रस्साकस्सी भएपछि विकल्पका रूपमा शान्ति निकुञ्ज स्कुलमा कक्षा ९ मा अध्ययनरत आत्माराम खरेल (सुजन) को नेतृत्वमा नयाँ कमिटी चयन भएको थियो । अनेरास्ववियुको नेतृत्वले कम्युनिस्ट पार्टीसित वैचारिक निकटता राख्ने देखिएपछि कांग्रेसनिकट विद्यार्थीहरूले अलग्गै भेला आयोजना गरी वि.सं. २०२७ मा कृष्णप्रसाद भट्टराईको उपस्थितिमा विपिन कोइरालाको अध्यक्षतामा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) स्थापना गरे । यहीँबाट अनेरास्ववियु र नेविसंघबीच औपचारिक विभाजन भयो र विद्यार्थीहरू कम्युनिस्ट र कांग्रेस विचारधाराका आधारमा छुट्टिए । त्यतिवेला पञ्चायत निरंकुशताविरुद्ध लड्ने बलियो र सशक्त विद्रोहको मसाल थियो, विद्यार्थी आन्दोलन । यो क्रान्तिको आवाजलाई कमजोर बनाउन पञ्चायत सरकारले आफूनिकट विद्यार्थी सम्मिलित राष्ट्रवादी विद्यार्थी मण्डल गठन गरेको थियो ।
व्यवस्था परिवर्तनका हरेक कालखण्डमा निर्णायक र अग्रगामी भूमिका निर्वाह गर्दै आएको विद्यार्थी आन्दोलन यतिवेला दिशाहीन बन्दै अन्योलको चौबाटोमा उभिएको छ । अन्याय, अत्याचार र हरेकखाले विभेदविरुद्ध जेहाद छेड्ने विद्यार्थी आन्दोलन निराशा र अन्योलको भुमरीमा रुमल्लिरहेको छ ।
चौथो राष्ट्रिय सम्मेलनपछि अनेरास्ववियुमा व्यापक अन्तरविरोध बढ्दै गयो र पुनः विभाजनको पीडा व्यहोर्नुप¥यो । कम्युनिस्ट पार्टीको एउटा घटक नेकपा (चौम) सँग वैचारिक निकटता राख्ने विद्यार्थीले भारतको अयोध्यामा पाँचौँ सम्मेलन गरी निनु चापागाईंको नेतृत्वमा कमिटी निर्माण गरे । साथै नेकपा (माले) निकट विद्यार्थीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा टंक कार्कीको नेतृत्वमा छुट्टै कमिटी गठन गरे ।
यही बिन्दुबाट कम्युनिस्टनिकट विद्यार्थी आन्दोलन विभाजित भयो । चौथो सम्मेलनबाट बनेका दुई वाम विद्यार्थी संगठनकै उत्तराधिकारीका रूपमा आज दर्जनौँ वामपन्थी, प्रगतिशील विद्यार्थी संगठन अखिलका रूपमा अस्तित्वमा छन् । त्यतिवेलाको नेकपा (माले) निकट अखिल पाँचौँको प्रतिनिधित्व आज नेकपा (समाजवादी), एमाले, मालेनिकट विद्यार्थी संगठनले गरिरहेका छन् । नेकपा (चौम) निकट अनेरास्ववियुको प्रतिनिधित्व जनयुद्धको पृष्ठभूमिबाट आएका माओवादी खेमा र मसालनिकट विद्यार्थी संगठनले गर्दै छन् । विद्यार्थी समुदायको हक–अधिकारको पैरवी गर्न र पार्टी वैचारिकीका आधारमा अहिले तीन दर्जनभन्दा वढी विद्यार्थी संगठन क्रियाशील छन् ।
महत्वपूर्ण राजनीतिक कालखण्ड– २००७, २०१७, २०३६, २०४७ र ०६२–६३ मा विद्रोहको मसाल बोक्ने र क्रान्तिको विगुल फुक्नेमा विद्यार्थी संघ–संगठन नै अग्रणी थिए । ती कालखण्डमा परिवर्तनका संवाहक बनेको विद्यार्थी आन्दोलनको संघर्ष र बलिदानको गौरवगाथा स्वर्णिम अक्षरले लेखिएको छ । जसको तुलनामा आजको विद्यार्थी आन्दोलन प्राण नभएको अस्थिपञ्जरजस्तो बनेको छ । भूमिगतकालमा पञ्चायती निरंकुशताविरुद्ध ‘रेडगार्ड स्क्वाड’का रूपमा परिचालित विद्यार्थी नेताहरू पार्टी प्रतिबन्धको वेलासमेत प्रजातन्त्र र बहुदलका विषयमा पार्टीका विचार सञ्चार गर्ने मुखपत्र बनिरहे । गणतन्त्र स्थापनाको आन्दोलनमा निरंकुशताका जन्जिर र कफ्र्यु तोड्ने, प्रहरीका लाठी, अश्रुग्यास र तातो गोली निल्ने विद्यार्थी विद्रोह आज अनेक स्वार्थ, विभाजन र अर्कमण्यताको सिकार हुन पुगेको छ ।
व्यवस्था परिवर्तनका हरेक कालखण्डमा निर्णायक र अग्रगामी भूमिका निर्वाह गर्दै आएको विद्यार्थी आन्दोलन यतिवेला दिशाहीन बन्दै अन्योलको चौबाटामा उभिएको छ । अन्याय, अत्याचार र हरेकखाले विभेदविरुद्ध जेहाद छेड्ने विद्यार्थी आन्दोलन निराशा र अन्योलको भुमरीमा रुमल्लिएको छ । दबाब, जागरण र प्रतिपक्षीय विद्यार्थी आन्दोलन आज सत्तापक्षका रूपमा आफूलाई प्रस्तुत गर्दै छ । कडा परिश्रम, गहिरो अध्ययन, फलामे अनुशासन, अन्याय र विभेदविरुद्ध मसालरूपी विद्रोही संस्कृति बिर्संदै आर्थिक लाभमा लिप्त, अनुशासनहीन आचरण र नैतिक पतनका विभिन्न मुद्दामा मुछिँदै गर्दा विद्यार्थी आन्दोलनको विरासत र गरिमा ओझेलमा परेको छ । यदि हामीले समयमै विद्यार्थी जागरण र आन्दोलनको नेतृत्व गर्न सकेनौँ भने गंगालाल, चिनियाँकाजीलगायत सहिदको रगतले हामीलाई पोल्नेछ ।
नेपालको विद्यार्थी आन्दोलनभित्र हुर्कंदै गएका आपराधिक र अमर्यादित प्रवृत्तिका कारण आज विद्यार्थी आन्दोलनको गौरवपूर्ण विरासतमाथि कालो पोत्ने काम हुँदै छ । एउटै संगठनभित्रका साथीहरूबीच झगडा, कुटाकुट, हतियारको प्रयोग, गुन्डागर्दीका घटना दैनन्दिन बढ्दै गइरहेका छन् । संगठनका नेता–कार्यकर्ताको आर्थिक व्यवहार अपारदर्शी र निकै महँगो हुँदै आएको छ ।
विद्यार्थी नेताहरूले ठेक्कापट्टा कब्जा गर्ने, हप्ता उठाउने, संगठनद्वारा आयोजित कार्यक्रममा उपस्थित नहुने र भाँड्ने, समानान्तर गतिविधि गर्ने, विद्यार्थीलाई छात्रवृत्ति मिलाइदिने भन्दै पैसा लिने र भर्नासमेत नगरी विद्यार्थीको भविष्य बर्बाद पार्नेजस्ता क्रियाकलापले पछिल्लो समयमा तीव्रता पाएको छ । विद्यार्थी नबन्ने तर नेता बनिरहने र सिंहदरबार धाउने, मन्त्रीका पिए बन्ने या यस्तै लाभका पदमा जाने गतिविधिले गर्दा नेपालको विद्यार्थी आन्दोलन आज बदनाम हुँदै गएको छ । विद्यार्थी नेताहरू विश्वविद्यालयका नियमित विद्यार्थी हुँदैनन् । उनीहरू विद्यार्थीका एजेन्डामा बेखबर छन् । केवल पार्टीभित्र पहुँच र सामाजिक प्रतिष्ठाका लागि विद्यार्थी संगठनमा आबद्ध हुँदै छन् । यसरी स्वार्थको राजनीति खेल्न खोज्दा असली विद्यार्थी आन्दोलनले इतिहासको त्यो गर्विलो साख गुमाउँदै छ ।
आज कुनै पनि विद्यार्थी संगठन व्यवस्थित छैनन् । कमिटीका नियमित बैठक हुँदैनन् । संगठनहरू नीति, उद्देश्य र कार्यदिशाविहीन छन् । विद्यार्थी संगठन केवल नक्कली विद्यार्थी नेताको ग्याङ बन्दै छन् । पार्टी र यो मुलुकको सक्षम नेतृत्व उत्पादन गर्ने नर्सरीरूपी विद्यार्थी संगठनमा त्यही पृष्ठभूमिबाट आएका नेताले समेत नजरअन्दाज गरेको पाइन्छ । नेताहरू पनि विद्यार्थी संगठन र यसका नेतालाई केवल आफ्नो गुटको अब्बल सिपाही बनाउन चाहन्छन् । तर, अबको विद्यार्थी आन्दोलनले यही बाटोबाट अगाडि बढ्छ र आफूलाई करेक्सन गर्दैन भने संगठनहरूको औचित्य समाप्त हुने निश्चित छ । र, इतिहासको विरासत मात्रै कायम रहने देखिन्छ ।
समय र परिस्थितिमा आएको परिवर्तनसँगै विद्यार्थी आन्दोलनको समयसापेक्ष कार्ययोजना निर्माण गर्दै विद्यार्थी आन्दोलनलाई अझ सशक्त बनाउनु आजको आवश्यकता हो । विगतमा विद्यार्थी आन्दोलनले खेलेको महत्वपूर्ण भूमिकाको सम्मान गर्दै समाजवादी शिक्षा तथा न्याय र समानतामा आधारित वैज्ञानिक समाजवादी राज्य व्यवस्थाउन्मुख भावी कार्ययोजना कोर्दै विद्यार्थी आन्दोलनका बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धतासहित अबको विद्यार्थी आन्दोलन जाग्नुपर्छ ।
विद्यार्थी आन्दोलनलाई पुनर्जागृत गर्न र साख जोगाउन विद्यार्थी संगठनको स्वरूप र कार्यशैलीमा पुनर्संरचना गर्नु वर्तमानको टड्कारो आवश्यकता हो । विज्ञान र प्रविधिमा हुँदै आएको विकासको रफ्तारसित परिचित, वास्तविक विद्यार्थी चरित्र बोक्न सक्ने, विद्यार्थीका अभाव र आवश्यकताको साथी, समाजमा झाँगिएको अन्याय र विभेदविरुद्ध आवाज बुलन्द गर्न सक्ने, सामाजिक, सांस्कृतिक र राजनीतिक परिस्थितिको ठोस विश्लेषण गर्न सक्ने क्षमता राख्ने, शिक्षा प्रणाली र शैक्षिक सवालको जानकार नियमित विद्यार्थी मात्रै विद्यार्थी आन्दोलनको नेता बन्न सक्छ । विकास निर्माण र चेतनाको हिसाबले निकै ठूलो परिवर्तन आएको छ । युवापुस्ता द्रुततर सूचना र प्रविधिमा अग्रसर देखिन्छ ।
आजको युग सूचना, ज्ञान र प्रविधिको युग हो । ज्ञान विज्ञानको विकास र बुझाइका दृष्टिकोणबाट अब्बल र प्रविधिमैत्री पुस्ताको नेतृत्व समयसापेक्ष अध्यावधिक हुन नसक्दा विद्यार्थी आन्दोलन असफल हुने खतरा हुन्छ । विद्यार्थी संगठन र यसका नेताहरू राजनीतिक पार्टीका झोले र चाकरीबाज बन्नुहुँदैन । आफूलाई मुलुकको शासन प्रणाली सञ्चालन गर्न सक्ने असल र योग्य व्यक्तिको रूपमा विकास गर्नुपर्छ ।
विद्यार्थी आन्दोलन भ्रष्टाचार, अपारदर्शिता, अपराध र माफियाकरणको गन्धबाट टाढा रहनुपर्छ । विद्यार्थी संगठनका नेताले विश्व परिवेश र तीव्रतर रूपमा विकसित र समृद्ध भइरहेको दुनियाँको प्रगतिको विश्लेषण गर्दै नेपाललाई समृद्ध बनाउने योजना तर्जुमा गर्न सक्नुपर्छ । गहिरो अध्ययन र अनुसन्धानमा आधारित ठोस योजना तर्जुमा गर्दै नेपालमै रोजगारीका सम्भावना र अवसर पहिचान गरी विदेश पलायन हुने जनशक्ति रोक्न भूमिका खेल्नुपर्छ । बर्सेनि लाखौँ विद्यार्थी बिदेसिने परिस्थितिको अन्त्य गर्नु नै आजको विद्यार्थी आन्दोलनको मुख्य चुनौती हो ।
शिक्षा क्षेत्रमा व्याप्त व्यापारीकरण, निजीकरण, माफियाकरण र राजनीतिक भागबन्डाका कारण हाम्रा शैक्षिक संस्था लथालिंग र असफल सिद्ध भएका छन् । जसका कारण नयाँ पुस्ताका विद्यार्थीमा विश्वविद्यालयप्रति विकर्षण पैदा हँुदै आएको छ । हाम्रो शिक्षा गुणस्तरीय नहुँदा र यसले जीवनोपयोगी रोजगारीको प्रत्याभूति नगर्दा आज ठूलो मात्रामा पुँजी र प्रतिभा पलायन भइरहेको छ । यो प्रवृत्तिले आमजनजीवनमा ठूलो निराशा र असन्तुष्टि सिर्जना गरेको छ ।
नेपालको संविधानले मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको शिक्षालाई वर्तमान सन्दर्भमा ढाल्नु आजको आवश्यकता हो । विश्वव्यापी रूपमा प्रतिस्पर्धी एवं सर्वसुलभ, गुणस्तरीय र रोजगारमूलक शिक्षा बनाउन विद्यमान शिक्षा प्रणालीमा सुधारको आवश्यकता छ । श्रम र प्राकृतिक स्रोत र साधनलाई उत्पादनसँग जोड्ने विषयगत, प्राविधिक र प्रादेशिक विश्वविद्यालय स्थापना गरेर शिक्षाको पुनर्संरचना गर्न सकिन्छ । सीपलाई उत्पादनसँग र ज्ञानलाई व्यवहारसँग जोड्ने प्राविधिक, स्वावलम्बी, रोजगारमूलक र वैज्ञानिक शिक्षा प्रणालीले मात्रै नेपालले विकास तथा समृद्धि हासिल गर्न सक्छ । अब विद्यार्थी आन्दोलनको मुख्य कार्यभार यही नै बन्नुपर्छ ।